तुलसीपुर । दाङको तुलसीपुर बजारमा रहेको एक जुत्ता पसलको गोदाम घरमा आगलागी हुँदा बालबालिका सहति ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ बर्षका अविजदिन अली, अन्दाजी १२ बर्षका साजीता खातुन, १४/१५ बर्षका हसन वकस, १६/१७ बर्षका मसीन वकस, र ४२ बर्षका नजरदिन अली रहेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

उद्धारको प्रयास गर्ने क्रममा अमर डाँगी घाइते भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । मृतकहरुको शव पोष्टमार्टका लागि राप्ती प्रादेशि अस्पतालको शव गृहमा राखिएको छ ।
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा करिब राती दुई बजेतिर आगलागि भएको थियो । तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहानपख नियन्त्रणमा लिएपछि मृतकहरुको शव निकालिएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । क्षेतिको एकिन बिबरण आउँन बाँकी रहेको छ ।

फरकबाटो २८ माघ २०७८, शुक्रबार ०९:५४