कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमसीसी र निर्वाचनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ । बुधवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीको बैठक बोलाइएको हो ।

बैठकमा मुख्य गरी केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेताहरूले बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बिहीवारको लागि बोलाइएको छ ।

पदाधिकारीको बैठकका छलफल गरेर भातृ संस्थाको नेतृत्व चयन, स्थानीय तहको निर्वाचन, एमसीसी परियोजनालगायतका एजेण्डा केन्द्रीय कार्यसम्पादन बैठकमा लैजाने तयारी कांग्रेसले गरेको छ । त्यसबाहेक, १६ जिल्लामा बाँकी रहेको अधिवेशन सम्पन्न गर्नेबारेमा पनि छलफल हुने बताइएको छ ।