नेपालमा हुने महिला साफ एक हप्ता सर्यो

काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ एक हप्ता पछि सरेको जानकारी गराएको छ ।

भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ ।

अब महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।

बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।