सरसफाई तथा हरियाली प्रवद्र्धन सम्बन्धी सांगीतिक कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगरमा सरसफाई तथा हरियाली प्रवद्र्धन सम्बन्धी सचेतनामुलक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका, यूएनडिपी, अन्तरनिर्भर समाज सुर्खेत र नेपाल गन्धर्व विकास संघ सुर्खेतको सहकार्यमा सचेतनामुलक सांगीतिक कार्यक्रम गरिएको थियो ।

वीरेन्द्रनगरको फोहोर व्यवस्थान, हरियाली प्रवद्र्धन र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
गितमार्फत जनचेतना जगाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको नेपाल गन्धर्व विकास संघ सुर्खेतका अध्यक्ष बद्री बैगारले बताए । उनले नौ जनाको समूहमा सांगीतिक कार्यक्रम गरिएको जानकारी दिए ।

उनले भने, ‘हामी गन्र्दभहरु घरघरमा गएर गाएर जिविकोपार्जन गथ्र्यौे तर अहिले यो पेशा बिस्तारै हराउँदै गएको छ । नगरप्रमुख देवकमार सुवेदीले यो कार्यक्रममा हामीलाई सहभागि गराउँनुभयो । यो कार्यक्रमले हामीलाई रोजगारीसँगै सचेतना जगाउने अवसर दिएको छ ।’ उनले आफुहरु घर–घरमा जाँदा सरसफाई सम्बन्धी जनचेतना जगाउने गरेको बताए ।

अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले नेपाल गन्धर्व विकास संघ सुर्खेतसँग सहकार्य गरेर सांगीतिक कार्यक्रम गरिएको जानकारी दिए । वीरेन्द्रनगरका मंगलगढी, एरिचोक, शिवालय चोकलगायतका ठाउँमा कार्यक्रम गरिएको उनले बताए । अहिले गन्र्दभ समुदायको रोजगार गुम्दै गएकाले पनि उनीहरुलाई सहयोग पुग्ने गरी कार्यक्रम गरेको जानकारी दिए ।