छोरीको हत्या गरेको कसुरमा दैलेखमा एक आमालाई जन्मकैद


सुर्खेत । तीन वर्षकी नाबालिग छोरीलाई विष खुवाइ हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले मङ्गलवार आमालाई जन्मकैद फैसला गरेको छ । २२ वर्षीया हरिमाया रावलले एक वर्षअघि माइतीघर दैलेखको गुराँस गाउँपालिका २ लम्चुरीमा नाबालिग छोरीको हत्या गरेको भन्दै यो सजाय गरिएको अदालतले जनाएको छ ।

तीन वर्षीया छोरी मुना सार्कीलाई विष खुवाई हत्या गरेको पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले ती महिलालाई मुलुकी अपराध संहिताको दफा १३७ बमोजिम जन्मकैद (२५ वर्ष) जेल सजाय भएको अदालतका स्रस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

घरमा असमझदारी भएपछि माइतीघरमा बस्दै आएकी हरिमायाले भाउजुसँगको विवादमा पीडा बोध गरी आफू र छोरी सँगै मर्ने उद्देश्यले २०७८ माघ २७ गते तरकारीमा छर्नका लागि घरमा राखिएको मेटासिटड विषादी खाएकोमा उपचार चल्दै गर्दा फागुन ४ गते छोरीको मृत्यु भएको थियो । माइतीमा बसेको बेला अरू कुनै बाहनामा नाबालिगलाई विष खुवाइ हत्या गरिएको घटना क्षमायोग्य नहुने भन्दै हरिमायाकी सासु डिलसरा सार्कीले जिल्ला प्रहरी कार्यालय दैलेखमा फागुन ४ गते उजुरी दिएपछि त्यही दिन हरिमायालाई प्रहरीले पक्राउ गरेको थियो ।

मृतक बालिकाको शव परीक्षण कर्णाली प्रदेश अस्पताल सुर्खेतमा फागुन ४ गते नै भएको थियो । प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा फागुन २७ गते कर्तव्य ज्यानसम्बन्धी अभियोग दर्ता गरेको थियो ।

छ वर्षअघि दाङको घोराही नगरपालिका १२ रतनपुरका प्रवीण सार्कीसँग हरिकला रावलको विवाह भएको थियो ।