काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुनेछ। आजको बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ। आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए। भेटमा उनले मन्त्रिपरिषद्को अबको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए।
प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार छलफल गरेका थिए।
फरकबाटो २४ माघ २०७८, सोमबार १०:५२