बारको आन्दोलनमा बृहत नागरिक आन्दोलनसहित ६ संस्थाको साथ


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र न्याय क्षेत्र पुनःसंरचनाको माग गर्दै आन्देलनमा उत्रिएको नेपाल बार एशोसिएसनलाई अरु ६ पेशागत र नागरिक संस्थाले साथ दिएका छन् ।

७ संस्थाको आह्वानमा प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रक्रिया थाल्न र न्यायपालिकाको गतिरोध अन्त्यका लागि दबाब दिँदै मंसिर ९ गते बालुवाटार न्याय मार्च घोषणा गरेका छन् ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले बालुवाटार न्याय मार्च गर्न लागेका हुन् ।

यी संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘‘तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्ने गरी दबाब दिन हामी यही मंसिर ९ गते संयुक्तरूपमा बालुवाटार न्याय मार्च गर्ने घोषणा गर्दछौँ ।’

न्यायिक क्षेत्रलाई बिथोल्ने र दमनकारी चरित्र देखाउने एकपछि अर्काे व्यवहारले प्रधानन्यायाधीश जबराको अविवेकी चरित्र उजागर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।