विजया दशमीले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को अठोट पूरा गर्न सबैमा प्रेरणा पैदा गर्ने विश्वास छः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली प्रदेशबासी र सम्पूर्ण नेपालीको सुख, शान्ति, सु–स्वास्थ्य एवं समृद्धिको कामना गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

उनले विज्ञप्ति मार्फत विजया दशमीले कर्णालीको विकास र समृद्धिको लागि प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को अठोट पूरा गर्न सबैमा प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गरे ।

नेपाली समाजमा यी चाडपर्वहरुले सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाई छ । परम्परागत प्रचलनका नाममा चाडपर्वहरुलाई अर्काको देखासिकीमा भड्किलो  र खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार पारिवारिक मिलन, शुभकामना आदान प्रदान र सामाजिक एकता एवं भातृत्व विकासको अवसरका रुपमा मनाउन उनले आग्रह गरे ।

मुख्यमन्त्री शाहीले कोरोनाको जोखिम रहिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर दशैँ मनाउन अनुरोध गरेका छन् ।