एन्फा निर्वाचनको नियमावली पारित

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्वाचनको नियमावली पारित गरेको छ । फुटबल संघको निर्वाचन आगामी जेठ १५ गते गर्ने औपचारिक निर्णय गरेको एन्फाले निर्वाचन नियमावलीलाई कार्यसमिति बैठकबाट पारित गरेको हो ।

बिहीबार एन्फा हेडक्वार्टर सातदोबाटोमा बसेको कार्यसमिति बैठकले किरण राई संयोजकत्वको समितिले तयार पारेको नियमावली मस्यौदालाई पारित गर्दै निर्वाचन समिति समेत गठन गरेको छ ।

बैठकले निर्वाचनका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सह–संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई तथा वैकल्पिक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिति कार्कीलाई निर्वाचन समितिमा राखेको छ ।

बैठकले निर्वाचन पुनरावेदन समिति गठन गर्दै संयोजकमा अधिवक्ता बिष्णु लुईटेल, सह–संयोजक अधिवक्ता सुधा रिजाल, अधिवक्ता केशवमणि अर्याल र वैकल्पिक सदस्यमा अधिवक्ता यज्ञबहादुर राना र अधिवक्ता राजेन्द्र इङ्गमानलाई समितिमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले चालू आर्थिक वर्षको कार्यक्रम कोभिडका कारण स्थगित भएको हुँदा सो कार्यक्रमको बजेटलाई अर्को आर्थिक वर्षभित्र खर्च गर्न मिल्ने गरि रकमान्तर गर्ने निर्णय गरेको छ ।