महिला विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । इंग्ल्यान्ड आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यूजिल्यान्डको वेलिङ्टनमा आईतबार भएको खेलमा बंगलादेशलाई १ सय रनले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इंग्ल्यान्डले ७ मध्ये चार खेल जित्दै ८ अंक जोडेको छ । यता अष्ट्रेलिया र दक्षिण अफ्रिकाले भने यस अघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् ।

आईतबारको खेलमा २ सय ३५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अलआउट हुदै १ सय ३४ रनमा सिमित भयो । बंगलादेशका लागि लता मोन्डलले सर्वाधिक ३० रन जोडिन् । इंग्ल्यान्डका लागि सोफी इक्लेस्टोन र चार्ली डिनले समान तीन–तीन विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ३४ रन जोड्यो । इंग्ल्यान्डका लागि सोफी डंकलीले सर्वाधिक ६७ रनको योगदान गरिन् । बंगलादेशका लागि सलमा खातुनले सर्वाधिक २ विकेट हात पारिन् ।