साफको कंग्रेस आज, महिला साफ आयोजनाको प्रस्ताव गर्दै नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेस आज शनिबार बस्दैछ । साफको कंग्रेस बंगलादेशको ढाकामा बस्नेछ । कंग्रेसमा साफ सदस्यहरुको फुटबल विकासको विषयमा छलफल हुनेछ ।

यता, नेपालले भने महिला साफ च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न औपचारिक प्रस्ताव पेश गर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले कंग्रेसमा महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गर्ने छन् । एन्फाले साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ सम्म आयोजना गर्ने प्रस्ताव गरिने जनाएको छ।

साफको कंग्रेसले अनुमोदन गरेमा महिला साफ नेपालमा आयोजना हुनेछ । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । साफको कंग्रेसमा नेपालबाट महासचिव राई, न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी र एन्फाका पूर्व सदस्य विकास नारायण श्रेष्ठले भाग लिनेछन्।