वीरेन्द्रनगर नगरपालिकाले ल्यायो तिनअर्ब बढीको बजेट

सुर्खेत । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ३ अर्बभन्दा धेरैको बजेट सार्बजनिक गरेको छ ।
आज सम्पन्न १३ औँ नगर सभामार्फत आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँ बजेट सार्बजनिक गरेको हो ।

चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याएको नगरपालिकाले आउँदो आर्थिक बर्षको लागि चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब भन्दा धेरै बजेट सार्बजनिक गरेको हो ।

नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको बताए । त्यसैगरी नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको उनले सुनाए ।

शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ नगरपालिकाले आफ्नो नीति कार्यक्रम र बजेट सार्बजनिक गरेको हो । नीति कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्ने भनिएको छ ।

नगरप्रमुख मोहनमाया ढकालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकालाई उप महानगरपालिका बनाउन पहल गर्ने उल्लेख छ ।
यस्तै, उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाउने, वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गर्ने, नागरिकका गुनासो सुन्न हेल्लो मेयर कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम समेटिएको हो ।