सरकार प्रतिपक्षलाई संगै लिएर अगाडि बढ्छ : मुख्यमन्त्री शाही

सुर्खेत । सरकारले प्रतिपक्षलाई संगै लिएर अगाडि बढ्ने मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । प्रदेश सभा नवौं अधिवेशनको तेस्रो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रतिपक्ष बिना सरकार सफल नहुने भन्दै उनले कर्णालीको सम्बृद्धिको लागि संगै हातेमालो गर्ने संकेत गरेका हुन् ।

संसदिय व्यवस्थामा आलोपालो हुने र कुर्चि समेत कसैको लागि आजिवन नभएको उनले तर्क गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदिय दलका नेता यामलाल कँडेलको भनाइप्रति लक्षित गर्दै मुख्यमन्त्री शाहीले प्रमुख प्रतिपक्षको धारणालाई समेत बुझेर अगाडि बढ्ने बताएका हुन् ।

सुखारी कर्णाली बनाउनको लागि सरकार र प्रतिपक्ष मिल्नुको विकल्प नभएको उनले सुनाए । प्रदेश सभाको बैठक सोमबार दिउसो १ बजे सम्मका लागि स्थगित भएको छ ।