जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएको भन्दै त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति भएको गठबन्धनका एक नेताले बताए ।