बडादशैंको आठौं दिन आज , कालरात्रिको पूजा गरिंदै

सुर्खेत । बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।

आजको दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।