कर्णाली प्रदेश समाज दक्षिण कोरियाको फेब्रुअरी १ मा अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ख्याल गर्दै  कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर माघ १८ गते (फेब्रुअरी १ ) मा भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो ।

पहिलो कार्यसमितिको कार्यअवधि फेब्रअरीमा सकिँदै छ । अधिवेशनको तयारी पुरा भएको संस्थाका सचिव तिलक हमालले जानकारी दिए । उनले नयाँ कार्यसमिति चयनका लागि संस्थापक सल्लाहकार आशाराम ढुङ्गानाको संयोजकत्वमा अधिवेशन निर्वाचन समिति बनाइएको बताए ।

आयोजक कमिटीका सदस्य गणेश कोइरालाले अधिवेशनमा आर्थिक र प्रगती प्रतिवेदन प्रस्तुत गरिने, आगामी योजनाका बारेमा छलफल गर्ने र  नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिए ।

अधिवेशनमा संस्थाका सल्लाहकार समिति, आजिवन सदस्य, साधारण सदस्य र विभिन्न पेशा तथा व्यवसायमा संलग्नहरुलाई सहभागि भइदिन अनुरोध गरिएको छ ।

कर्णाली प्रदेश समाज दक्षिण कोरिया, कर्णालीबाट रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेकाहरु आवद्ध रहेको संस्था हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारालाई आत्मसाथ गर्दै सन् २०२० मा संस्था स्थापना गरिएको थियो ।

 संस्थाले विभिन्न सामाजिक तथा सहयोगात्मक कार्य गर्दै आएको छ । कोरियामा रहेका नेपालीको हकहितका सवालसँगै नेपालमा समेत आपत्तकालीन अवस्थामा विभिन्न गतिविधिमा समाजको उत्तिकै सक्रियता रहने गरेको छ ।