गठबन्धनले स्थानीय तहको निर्वाचन सार्ने बहानाबाजी खोजिरहेको एमालेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सार्ने बहानाबाजी खोजिरहेको आरोप लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य निकालेर पालिकाको निर्वाचन सार्ने बहानाबाजी आफूहरुलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । सरकारको ६ महिने कार्यकालबारे एमालेको धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार सबैतिर असफल भएको टिप्पणी गरे ।

आठ पृष्ठ लामो १५ बुँदे वक्तव्यमा अध्यक्ष ओलीले सरकार पालिकाको निर्वाचन सार्न बहानाबाजी खोजिरहेको तर एमाले समयमै चुनाव हुनुपर्नेमा स्पष्ट र दृढ रहेको दोहोर्याए । वक्तव्यमा गठबन्धन सरकार पालिकाको निर्वाचनलाई पर धकेल्न र देशमा राजनीतिक अन्योल सिर्जना गर्न उद्धत रहेको तथा अर्थतन्त्र नकारात्मक हुनुमा वर्तमान सरकार नै दोषी रहेको उल्लेख छ ।