वीरेन्द्रनगरमा ‘तपाईको मास्क खोई ?’ अभियान


सुर्खेत । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गए पछि वीरेन्द्रनगरमा तपाईको मास्क खोई ? अभियान सुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिकलगायतका ठाउँमा न्यून मास्क लगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को आयोजनामा शनिबार  तपाईको मास्क खोई ? अभियान सुरु गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा तपाईको मास्क खोई ? अभियान सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन आग्रह गरे । साथै उनले खोप केन्द्रहरुमा गएर खोप लगाउन पनि आग्रह गरे ।

कोरोना तेस्रो लहर सुरु भएसँगै सुर्खेतमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ । सुर्खेतमा पाँच सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो तीनचार दिनमा कोरोना संक्रमण दर उच्च देखिएको छ । सुर्खेतमा ५९६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्य छ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी होमआइसोलेशनमा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललले अनुगमनका क्रममा मास्क नलगाएको पाइए पछि मास्क खोई अभियान सुरु गरिएको बताए । उनले कोरोनाको जोखिम उच्च रहेकाले सर्तकता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

उनले भने, ‘कोरोना संक्रमण तिव्र फैलिएको छ । तर जनस्वास्थ्यका मापदण्ड पालना गरेको देखिएन् । मास्न नलगाउने, दुरी कायम नगर्ने र भिड गर्ने देखिए पछि हामीले तपाईको मास्क खोई ? अभियान सुरु गरेका हौँ ।’ उनले आज मात्रै निशुल्क मास्क वितरण गरिएको र भोलिदेखि मास्क नलगाउनेलाई कार्वाही गरिने जानकारी दिए ।

उनले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुचना प्रकाशित गरेर आग्रह गरिएको बताए । उनले सबै स्थानीय तहहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गराउनका लागि पत्राचार गरिएको र सुचना प्रवाह गर्न आग्रह गरिएको जानकारी दिए ।