पाँच दलीय गठबन्धन समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित

काठमाण्डौ । सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । स्थानीय तह र संसदीय चुनावका लागि मिति तय गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।

सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव पहिला गर्ने की संघीय संसदको भन्ने विषयमा निचोड निस्कन सकेको छैन । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख जेठमा संसदीय र कात्तिकरमंसिरमा स्थानीय तहको चुनाव गर्नु प्रस्ताव राखेका छन् ।

गएको मंगलवार बसेको समन्वय समितिको बैठकले थप छलफल तथा निर्वाचन आयोगसँग पनि परामर्श गर्ने र पुनः बैठक बस्ने निर्णय गरेको थियो । तर आजका लागि तय भएको बैठक स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।