चारवर्षमा बाढिपीडितका नाममा ३१ करोड खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले चारआर्थिक वर्षमा बाढिपीडितका नाममा ३१ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७४/ ०७५ देखी आर्थिक वर्ष २०७७/०७८ सम्म उक्त रकम खर्चिएको हो ।

२०७१ साल साउन २८ र २९ गते आएको बाढिका कारण सुर्खेत जिल्लामा ७ वटा स्थानिय तहका १ हजार ४५ घरपरिवार बिस्थापित भएको प्रदेश सरकारको तथ्याँक रहेको छ ।

जिल्लाका सातवटा स्थानिय तह गुर्भाकोट नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिकामा र बराहताल गाउँपालिकाका  पीडितका लागि स्थानिय तहमार्फत बजेट पठाइएको हो ।

जसमा आर्थिक वर्ष २०७४/०७५ सालमा जिल्लाका सातवटा स्थानिय तहका ५ सय ९१ परिवारलाई १ लाख पचास हजारका दरले ८ करोड ८६ लाख ५० हजार रुपैयाँ स्थानिय तहमार्फत पठाइएको आन्तरिक मामीला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए ।

उनका अनुुसार आर्थिक वर्ष २०७५/०७६ मा सातवटा स्थानिय तहका ५ सय ९१ परिवारलाई एकलाखका दरले ५ करोड ९१ लाख, आर्थिक वर्ष २०७६/०७७ मा सातवटै स्थानिय तहका ५ सय ९१ परिवारलाई पचास हजारका दरले २ करोड ९५ लाख ५० हजार रुपैयाँ पठाइएको रोकायले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा पुन १ सय ३३ परिवारलाई एकलाख पचासहजारका दरले १ करोड ९९ लाख ५० हजार रुपैयाँ स्थानिय तहमार्फत प्रदान गरिएको मन्त्रालयको तथ्याँक रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ३ सय २१ घरपरिवारलाई प्रतिपरिवार तिनलाखका दरले जम्मा ९ करोड ६३ लाख र १ सय ३३ परिवारलाई एक लाख ५० हजारका दरले १ करोड ९९ लाख ५० हजार रुपैयाँ गरि जम्मा १२ करोड ५० लाख रुपैयाँ सातवटै स्थानिय तहमा पठाइसकिएको उनले बताए । चारआर्थिक वर्षमा सरकारले ३१ करोड ३५ लाख रुपैयाँ बाढिपीडितका नाममा बजेट खर्च गरेको हो ।