कर्णाली प्रदेश सभा सदस्य भन्छन् – सरकारले जनताको भावना बुझेन


सुर्खेत । कर्णाली प्रदेश सभा सदस्यहरुले सरकारको कामकारबाहीको विरोध गरेका छन् । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले सरकार गठन भएको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै विरोध गरेका हुन् ।

आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य मिनासिंह रखालले प्रदेश सरकारले जनताको भावना बुझेर काम नगरेको भन्दै सरकारप्रति जनताको विश्वास गुमेको बताइन् ।

उनले गठबन्धनको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै विरोध गरिन् । उनले जनताका लागि भन्दा पनि पार्टी कार्यकर्तालाई पालनपोषण गर्न अध्यादेशमार्फत बजेट ल्याइएको आरोपसमेत लगाइन् ।

प्रदेश सभा सदस्य पदमबहादुर रोकायले कर्णालीवासीको जीवनस्तर जस्ताको त्यस्तै रहेको भन्दै सरकारले पूर्णता पाउन नसक्दा सरकारका काम प्रभावित भएको टिप्पणी गरे । उनले भने, ‘अहिले सरकारले पूर्णता पाउन सकेको छैन् । सरकारले छिटोभन्दा छिटो पूर्णता पाउनुपर्छ । मुख्यमन्त्रीले आफैं पाँचवटा मन्त्रालय राखेर कसरी काम गर्नुहुन्छ ? हामीले कहिले विकास गर्ने हो ? ’

प्रदेश सभा सदस्य पद्मा खड्काले सरकारले जनताका काम भन्दा पनि गठबन्धन टिकाउनमा मात्रै ध्यान दिएको बताइन् । उनले सरकारले विद्यार्थीहरूलाई कोरोना खोपको व्यवस्था गरी विद्यालय सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रदेश सभा सदस्य ठम्मर बिष्टले कोरोना भाइरसको प्रतिकार्यका लागि प्रदेश तहबाट तयारी गर्नुपर्ने बताए । उनले स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नु पर्ने र त्यसका लागि सरकारले जनचेतना जगाउनु पर्ने बताए ।

शिक्षा क्षेत्र प्रभावित भएको भन्दै उनले अनलाइन शिक्षाका लागि पनि सरकारले ध्यान दिनुपर्ने जोड दिए । सुकुमबासी समस्या समाधानका लागि संघले ल्याएको योजना समयमै कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन विधेयक २०७८ र आर्थिक विधेयक २०७८ फिर्ता गरेको छ । प्रदेशसभाको अर्को बैठक माघ १६ गते दिउँसो १ बजे बस्नेछ ।