कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोभिड नियन्त्रणका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा २२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागले जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न, खोपकेन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षणपत्रमा राज्यका निकाय एवम् कूटनीतिक क्षेत्रको सक्रियता बढाउन, खोपको आपूर्ति तथा प्रयोगका प्रबन्ध मिलाउन र पर्याप्त भण्डार केन्द्र स्थापना गर्न सरकारसँग आग्रह गरिएको उल्लेख गरिएको छ ।

तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपत् व्यवस्थापन कार्य सञ्चालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिङ सेन्टरको व्यवस्थापन गरी सञ्चालन गर्न, थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्न, स्थानीय तह र स्थानीय स्वास्थ्य एकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्तमात्रामा उपलब्ध गराउन एमालेले सरकारसँग आग्रह गरेको छ ।

यसैगरी ध्यानाकर्षण पत्रमा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि राज्यको सबै संयन्त्र तथा राजनीतिक दललाई समन्वयात्मक रुपमा परिचालन गर्र्न, सरकारी तथा निजी अस्पताल र मेडिकल कलेजलाई पनि समन्वयात्मक रुपमा परिचालन गर्न, पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा टे«सिङ, परीक्षण, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्न सरकारसँग आग्रह गरिएको छ ।

यस्तै, आवश्यकताअनुसार पुनःस्थापना केन्द्र सञ्चालन गर्न, औषधि, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्न, अस्पतालको स्तर वृद्धि गरी थप सेवा सञ्चालन गर्न, बुस्टर डोजको व्यवस्था तत्काल मिलाउन, राज्यका विभिन्न निकाय, स्वदेशी तथा विदेशी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रसँग समन्वय र साझेदारीमा कोभिड–१९ सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम अघि बढाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै कोभिड–१९ बाट मृत्यु भएकाको आश्रित परिवार गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्ग र अशक्त० लाई पुनःस्थापनाको व्यवस्था गर्न, स्थानीय तहलाई विशेष जिम्मेवार बनाई साधन स्रोत र जनशक्ति उपलब्ध गराउन तथा दीर्घरोग, अत्यावश्यक स्वास्थ्य तथा नियमित स्वास्थ्य सेवा सञ्चालनमा राख्न पनि एमालले सरकारसँग आग्रह गरेको छ ।

एमालेले कोभिड–१९ का कारण विभिन्न क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न विशेष आर्थिक योजना कार्यान्वयन गर्न, वैकल्पिक रोजगारीको प्रबन्ध मिलाउन, विदेशमा कार्यरत नेपालीको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकसँग पहलकदमी लिनसमेत सरकारसँग आग्रह गरेको छ ।

स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई, स्थायी कमिटी सदस्य खगराज अधिकारी, नेता कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई लगायतको प्रतिनिधिमण्डलको टोलीले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार ११ कमजोरीसमेत औल्याइएको छ।