हुम्लामा एक व्यक्तिलाई चार किलो मात्रै चामल


हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झण्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ ।

शुक्रबारदेखि खाद्यान्न वितरण थालिएको हो । एक व्यक्तिले चार किलो मात्रै चामल पाउने खाद्य व्यवस्था कम्पनी शाखा हुम्लाले जनाएको छ ।

समयमै चामल ढुवानी नहुँदा हुम्लाका नागरिकले अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदै आएका थिए । हरेक महिना पाउनुपर्ने चामल समयमै ढुवानी नहुँदा नागरिक मर्कामा परेका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा झण्डै ६० हजार नागरिक समस्यामा परेका छन् ।

तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरुले एक महिनाको मात्रै चामल पाउने भएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण सर्वसाधारणका लागि बिक्री नभएको हो ।

लिमिटेडले गोदाममा चामल मौज्दात जम्मा पारेर महिनाको एक पटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारीमा वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन भएको छैन ।

तीन महिनायता लिमिटेडको कोटाको सस्तो मूल्यमा खरिद गर्न पाउने खाद्यान्न नपाएपछि बजारमा महँगो मूल्य तिरेर खाद्यान्न खरिद गर्नुपरेको थियो । चामल लिन लिमिटेडको शाखामा पुग्दा आफ्नो परिचयपत्र खुल्ने नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने बाध्यता जस्तै बनेको छ ।

नागरिकता पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताए । आजदेखि ४ किलो चामल वितरण गरेको भए पनि पूरै महिनाको चामल पाउनुपर्ने माग गरी सिमकोट १ र २ का नागरिकले आन्दोलन थालेका छन् ।