नवयुगलाई कप्तानको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन् । मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् ।

यसअघि राष्ट्रिय फुटबल टिममा कप्तानको जिम्मेवारी किरण चेम्जोङले सम्हाल्दै आएका थिए । रोहित चन्द सहित १० खेलाडीको कदममा किरणले समेत समर्थन जनाएका थिए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले एसिया कप छनोट खेल्ने टिमको घोषणा गर्दा किरण सहित सिनियर १० खेलाडीलाई बाहिर राखेका थिए ।

यसैबीच, एन्फाले कुवेतमा हुने एसिया कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरेको छ । मंगलबार साँझ औपचारिक कार्यक्रमको आयोजना गरेर एन्फाले खेलाडी बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीलाई बिदाई गर्दै उत्कृष्ट खेल प्रर्दशनका लागि शुभकामना दिएका थिए । नेपाली टिम बुधबार कतार उड्नेछ ।

अफगानिस्तान कतार आउन नमानेपछि तयारी स्वरुप नेपालले खेल्ने दुई मैत्रीपूर्ण खेल स्थगित भैसकेको छ । कतारमा नेपालले बाँकी तयारी सक्नेछ ।
एसिया कप छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।  दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोटका लागि नेपालले टोलीको घोषणा गरिसकेको  छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

नेपाली टोली :

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्स : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ