सुर्खेत । फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह (जी) अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।
कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको हो । पराजित भए पनि समूह विजेता बनेको ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको छ ।
क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अङ्क जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गएराति भएको खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेको छ । पराजित घाना समूह चरणबाट बाहिरिएको छ । उसले ३ खेलमा ३ अङ्क जोडेको थियो। उरुग्वे समूह (एच) को तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण कोरियासँग गोल अन्तरमा पछि परेको उरुग्वे समान अङ्क जोडे पनि बाहिरिएको हो ।
यस्तै, गएराति भएको अर्को खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएको छ । ३ खेलमा ६ अङ्क जोडेको स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेको छ । जितसँगै स्विट्जरल्यान्ड समूह जी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
फरकबाटो १७ मंसिर २०७९, शनिबार १२:०४