एपीएफलाई पीएम कपको उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप-विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ ।

टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए । अनिल शाह १० रन आउट हुँदा अमित श्रेष्ठ ३ रनमा आउट भए । पवन सर्राफ सुन्य रनमा आउट भए । एपीएफका किशोर महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे । यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए ।

भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक सुन्य रनमा आउट भए । किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए ।  गुलशन झाले २ विकेट लिए   ।  आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए ।