संसदको अवरोध खुलाउन पहल गर्ने उच्चस्तरीय राजनीतिक समितिको निर्णय

काठमाण्डौ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज बसेको बैठकले अवरुद्ध संसदलाई खुलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए ।

उनले संसद नियमित चलाउन सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुने बताए । उनले भने, ‘आज बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ र अर्को विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुरु गर्न पहल गर्ने निर्णय भएको छ ।’