शवबाहन देखि एम्बुलेन्स खरिद सम्मको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस कोभिड –१९ प्रतिकार्यका लागि विभिन्न शिर्षकमा बजेटको व्यवस्था गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको व्यवस्थापनको लागि शवबाहन खरिद देखि उपचारका लागि एम्बुलेन्स खरिद सम्मको बजेट व्यवस्था गरेको हो ।

प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुलाई कर्णाली प्रदेश सरकारले सात करोड छ लाख रुपैयाँ पठाएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरस प्रतिकार्यका लागि सरकारले पुर्ण तयारी गरेको बताएका हुन् ।

जसमा एम्बुलेन्स खरिदका लागि प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रति अस्पताल २० लाखका दरले ८० लाख पठाइएको मुख्यमन्त्री शाहीले बताए ।

उनका अनुसार शववाहन खरिद गर्न स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय सल्यान र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले ४८ लाख, प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार ( अनलाइन युपिएस सिस्टम) खरिदको लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि दुईकरोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड – १९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरि २ करोड ४८ लागि रुपैयाँ पठाइएको शाहीले जानकारी दिए ।

कोभिड संक्रमण प्रतिकार्यका लागि सरकारको तयारी विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुमा कोरोना प्रतिकार्यका लागि बजेट पठाइसकिएको जानकारी दिएका हुन् ।

त्यस्तै जिल्लास्थित विभिन्न स्थानिय तहहरुमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरको लागि प्रति एकाई पाँचलाखका दरले ३ करोड ३० लाख रुपैयाँ समेत पठाइएको जानकारी शाहीले दिए ।

यसका अवला प्रदेशभर आठवटा अक्सिजन प्लान्ट, कर्णाली प्रवेशका तिन मुख्य द्धार सुर्खेतको कुइने, बबई र सल्यानको कपुरकोटमा चेकजाँच तथा आइशोलेसन र क्वारेन्टिनको समेत व्यवस्था गरिएको उनले बताए ।

कर्णाली प्रदेशका नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि खोपको व्यवस्था र संक्रमणपछि उपचारको समेत राम्रो व्यवस्था गर्ने उनले बताए । पहिलो चरणमा संक्रमण फैलिन नदिनको लागि नै सरकारले तयारी गरेको उनले सुनाए ।

पछिल्लो एकमहिनाको अवधिमा कर्णालीमा २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हाल कर्णालीमा २ सय २८ जना होमआइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका निर्देशक डा. रबिन खड्काका अनुसार आजदेखी अस्पतालहरुमा खोपको बुस्टर डोज समेत सुरु गरिएको हो । कोभिशिल्डको अभाव भएपनि अन्य खोपहरु भने प्रशस्त भएकोले खोप नलगाएका नागरिकहरुले अनिवार्य खोप लगाउन उनले आग्रह गरे । भेरोसेल एक लाख र कोभिशिल्ड दशहजार अझै पनि स्टक रहेको खड्काले बताए ।