क्यान र खेलाडीबीच सहमति : खेलाडीमाथि गरिएको कारबाही फिर्ता, ज्ञानेन्द्र मल्ल नै कप्तान


काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमतिअनुसार क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउने निर्णय फिर्ता लिने भएको छ ।

यस्तै उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ । क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएको मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो ।

कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् । विवादका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नै प्रभावित हुने भएपछि क्यानले कप्तान परिवर्तन र कारबाही फिर्ता गर्ने निर्णय गरेको हो ।