विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

सुर्खेत कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको नयाँ बलको नाम (अल हिल्म) राखिएको छ । अरेबिक शब्द (अल हिल्म) को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम (अल रिहला) राखिएको थियो । यसको अर्थ (यात्रा) हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ । यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलका खेल पर्सि बुधवारदेखि सुरु हुने छ ।