तथ्यमा कलम चलाउन मुख्यमन्त्री कँडेलले गरे पत्रकारहरुलाई आग्रह


सुर्खेत । पत्रकारहरुलाई तथ्यमा कलम चलाउनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आग्रह गरेका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशका पत्रकार महिलाहरुका लागि व्यावसायिक र जवाफदेही पत्रकारितामा लैैगिक सम्वेदनशिलता सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । उनले पत्रकारिता मार्फत पत्रकारहरुले सरकारको कामलाई समेत नियाल्नुपर्ने भन्दै सरकारले गरेका कामहरु नागरिक समक्ष पुराउने दायित्व समेत रहेको बनाए ।

कर्णाली प्रदेश सरकारले आफ्नो सिमित स्रोत र साधनका बाबजुद पत्रकारहरुका लागि केही कार्यक्रमहरु ल्याएको भन्दै ति कार्यक्रमहरु केवल ल्याउनका लागि मात्रै नभई कार्यान्वयन गर्न र प्रतिफल निकाल्ने किसिमका भएको मुख्यमन्त्री कँडेलले बताए । उनले पत्रकारहरुले जहाँ भेट्यो त्यहीँ कुरा राख्ने भन्दा पनि पत्रकारिताको सवालमा कुरा राख्नका लागि समय मिलाएर आउनुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रका अध्यक्ष निर्मला शर्माले आफ्नो नेतृत्वको पत्रकार महासंघले लैगिंक समानताको विषयलाई गम्भिरतापुर्वक सोचेको बताईन् । उनले समग्र पत्रकारिता क्षेत्रलाई राम्रो बनाउनका लागि जिल्लाका महासंघहरु समेत सक्रिय हुनुपर्ने धारणा उनले राखिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत, नेपाल पत्रकार महासंघ दैलेख, विभिन्न पेशागत संघसंगठनहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा कर्णालीका चार जिल्लाका २५ जना बढी पत्रकार महिलाहरुको सहभागीता रहेको छ । तालिम तिनदिन सम्म सञ्चालन हुने नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए । उनले कर्णालीको समग्र पत्रकारिता संगै पत्रकार महिलाहरुको सवालमा गम्भिर भएको बताए ।