जनप्रतिनिधि जिताउन गाउँ आएकाहरु फर्किए भारत

सुर्खेत । ‘यो गाडी कता जान्या हो गुरु ? हामी आठ–नौ जना छौं । हामीहरु न ढिला भयाको छ । नेपालगञ्ज जानुपढ्न्या थियो । अरु सबै बाइगया हामीहरु न धेरै ढिला भयाको छ । छिट्टै पुग्नु पढ्न्याहो ।’ उनी धेरै हतारमा थिए । मलिन अनुहार, हातमा ठुलै झोला बोकेर आएका उनी तिलागुफा नगरपालिका ८ कालिकोटका शैलेन्द्र विश्वकर्मा थिए ।

आठ–नौ जनाको समुहमा अलि बढि उनले नै हतारो देखाइरहेका थिए । रोजगारीका लागि भारत हानिन लागेका शैलेन्द्रको त्यो हतारो देखेर सवारी चालकले पनि तुरुन्तै सिट मिलाइहाले र उनी लामो सास फेर्दै गाडीमा बसे । शैलेन्द्र कमाउनका लागि भारत जान लागेका हुन् । उनी केही वर्षयता रोजगारीका लागि भारतमा बस्दै आएका छन् । स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधि जिताउन गाउँ आएका उनी निर्वाचन सकिएसंगै फेरी भारत जान लागेका हुन् ।

निर्वाचनमा भोट हाल्न आएका उनी सहित एउटै गाउँका आठ–नौ जना भारत जान लागेका थिए तर शैलेन्द्रको अनुहारमा खुसी भन्दा बढि बेचैनी र हतारो देखिन्थ्यो । कारण गाउँमा उधारो खाएको ऋण र भाई–बहिनीको पढाईलेखाई खर्च नै थियो । अनी बुढा भएका बुवाआमाको मायापनि ।

वर्षले भर्खरै १९ पनि नकटेका शैलेन्द्रले आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न पाएनन् । गाउँमै मजदुरी गरेर पेट पाल्न पनि नसकेपछि उनले आफ्नो रोजगारीको गन्तव्य भारतलाई नै बनाउँदै आएका छन् ।

‘कर्णालीको विकट जिल्ला हो कालिकोट’ उनले भने “ अन्न उत्पादन धेरै हुँदैन, कि भोकै मुर्नपर्छ कि भारत गएरै भएपनि कमाएर चामल खानुपर्छ ।” शैलेन्द्रको घरमा कमाइदिने अरु कोही छैनन् । त्यसैले पनि उनी घरको जिम्मेवारी बोकेर भारत हानिएका हुन् ।

कर्णालीका धेरै युवाहरु सिजनल रुपमा भारतमा रोजगारीका लागि जान्छन् । आफ्नै ठाउँमा उद्योग धन्दा छैनन् नत गाउँमै वर्षभरी खानपुग्ने अन्ननै उत्पादन हुन्छ । त्यसैले पनि कर्णालीका अधिकाँश युवा तथा वयस्कहरु छोटो समयका लागि भारत जाने र आउने गर्छन् । वर्षौदेखी कर्णालीका नागरिकहरुले यसरी नै भोको पेट भर्दै आएका छन् ।

भोको पेट भर्नका लागि भारत जाने शैलेन्द्र मात्रै होइनन् । उनीजस्ता थुप्रै युवाहरु कर्णालीका छन् । जो प्राकृतिक विपत्तीमा आफ्नै देश फर्कन्छन् अनी फेरी भोकोपेट भर्न भारत र अन्य मुलुक उनीहरुको रोजाईमा पर्छ ।

दैलेखको गुराँस गाउँपालिका २ का कमल नेपाली पनि रोजगारीका लागि भारत जान लागेको बाह्रवर्ष भयो । भोको पेट भरिएपनि उनको जिवनशैली भने फेरिएको छैन । उनी वर्षमा दुई देखी तिनपटक सम्म घर आउने र भारत जाने गर्छन् परिवारको पेट त भोको छैन तर जिवनस्तर भने उस्तै छ ।

यसपटक उनी मताधिकार प्रयोग गर्न गाउँ आएका हुन् । जनप्रतिनिधि जिताए अब उनलाई फर्केर कसैले हेर्दैन त्यसैले उनको गन्तव्य भारत हो । ‘हाम्रा लागि गाउँमै रोजगारी सृजना गरे किन भारत जानुपथ्र्यो र ? उनी प्रश्न गर्छन् ।’ तर त्यसको जवाफ कसैसंग छैन ।

‘गाउँमा रोजगारी केही छैन ’ उनले थपे “ खेती गरेर वर्षभरी खानै पुग्दैन । धेरै पढेको पनि छैन । अरु केही सिप नभएर भारत गएर मजदुरी गर्छु । चुनाव जित्नेहरुलाई आफ्नै चिन्ता छ । हामीजस्ता बेरोजगारहरुको कुरा न कसैले सुन्छ न कसैले हाम्रो पिडा देख्छ । ”

संघियतापछि तिनै तहका सरकारले युवाहरुलाई रोजगारीमा जोड्नका लागि थुप्रै कार्यक्रम ल्याउने प्रतिवद्धता देखाए । सोही बमोजिम निति तथा कार्यक्रम पनि बने तर कार्यान्वयन भने हुन सकेनन् ।

वर्षेनी कर्णालीबाट रोजगारीका लागि सयौं नागरिकहरु भारत जान्छन् । तर कर्णालीका कती नागरिक भारत जान्छन् भन्ने सम्मको तथ्याँक सरकारसंग छैन । भारतमा गएर भोगेको असुरक्षा र सास्तीको कुनै हिसावकिताव पनि छैन । कमाउन गएको छोरो फर्केर आउँछ आउँदैन भन्ने कुराको ग्यारेण्टी समेत कर्णालीकी आमालाई छैन ।

उसोत नेपालको संविधान २०७२ भाग ३ मा रहेको मौलिक हकमा रोजगारीको हक, खाद्यको हक सम्बन्धि व्यवस्था गरिएको छ । तर संविधानमा उल्लेख गरिएको मौलिक हकबाटै कर्णालीका नागरिकहरु बञ्चित छन् ।

जनप्रतिनिधि जिताउन आउनेहरु यसरी नै मलिन अनुहार लगाएर पुरानै रोजगारीको गन्तव्य हानिनुको कुनै विकल्प छैन । रोजगारी खोज्न पलायन हुनेहरुको नत कर्णाली प्रदेश सरकारले काम गर्न सकेको छ नत कर्णालीका ७९ वटै स्थानिय तहहरुले । उनीहरु यसरी नै जिवन गुजारा गरिरहेका छन् ।