सुर्खेत । इजरायलले गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गरेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई ५९ जना बन्धकको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत् निगमलाई गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताएका छन् ।
गएको हप्ता इजरायलले गाजा क्षेत्रमा राहत सामग्री, तेल र अन्य अत्यावश्यकीय वस्तु लिएर जाने गाडीहरू रोकेको थियो । इजरायलले पानीको आपूर्ति बन्द गर्ने विषयमा पनि सोचिरहेको बताएको छ । हमाससँग भएको युद्धविरामको पहिलो चरण कार्यान्वयन भए पनि दोस्रो चरणमा आइपुग्दा फेरि तनाव शुरू भएको छ ।
युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा गरेको हमासले दोस्रो चरण शुरू गर्नेबारे वार्ता र छलफल नै नभएको बताउँदै आएको छ । नेपालका विपिन जोशीसहित ५९ जना बन्धकको रिहाइ अझै अनिश्चित छ । तर इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै शुरू हुने अपेक्षा गरिएको छ ।
युद्धविराम सम्झौतासम्बन्धी वार्ता अगाडि बढाउन इजरायलले आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने भएको छ । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता शुरू गर्ने सम्बन्धमा हमासले पनि सकारात्मक सङ्केत दिएको छ ।
फरकबाटो २५ फाल्गुन २०८१, सोमबार १३:५८