शैक्षिक संस्थामा ‘राजनीति’ मुख्य चूनौती

सुर्खेत । शैक्षिक संस्थामा राजनीति मुख्य चूनौती रहेको सरोकारवालाहरुले बताएका छन् । शैक्षिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप हुँदा अपेक्षा अनुसारको विकास हुन नसकेको उनीहरुले बताएका हुन् ।

सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चिता समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । उच्च शिक्षा प्रदायक संस्थाको व्यवस्थापकीय सुधार, चूनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले शैक्षिक क्षेत्रमा हुने राजनीतिक हस्तक्षेपको खबरदारी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले राजनीतिका कारण शैक्षिक संस्था माथि उठ्न नसकेको बताए । उनले विश्वविद्यालयमा दरबन्दी अनुसारको जनशक्तिका लागि विज्ञापन समेत गर्न कठिनाई हुने गरेको सुनाए ।

‘भएका जनशक्ति राजनीतिक पहुँचका आधारमा काठमाण्डौ भन्दा बाहिर जान मान्दैनन् ।, उनले भने, ‘विश्वविद्यालयमा थुपै्र प्राध्यापक र कर्मचारीको दरबन्दी रिक्त छ ।, कर्मचारीहरुलाई काठमाण्डौ बाहिर सरुवा गर्न कठिन भएको भन्दै उनले शिक्षकका नेताहरु नै दवाद दिन आउने बताए ।

शिक्षण विधिलाई परिमार्जन गर्दै निस्वार्थ रुपले काम गरे शैक्षिक गुणस्तर कायम गर्न सकिने उनको भनाई थियो । डा शर्माले सुर्खेत शिक्षा क्याम्पस अब बहुमुखी क्याम्पसका रुपमा रुपान्तरण भएकोले सोही अनुसार व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्ने जोड दिए ।

कार्यक्रममा विश्व विद्यालय कार्यकारी परिषद्का सदस्य प्रा.डा.महानन्द चालिसेले अब शैक्षिक संस्थाहरुको व्यवस्थापकीय पक्षहरु सुधार हुन जरुरी रहेको बताए । उनले अब रणनीतिक कार्ययोजना बनाएर अघि बढनुपर्नेमा जोड थिए । त्रिभुवन विश्वविद्यालय सुधारमा आफुहरु निस्वार्थ भएर लागेको बताउँदै डा. चालिसेले आंगिक क्याम्पसहरु पनि परिमार्जन भएर जानुपर्नेमा बताए । कोर्षहरु परिमार्जन गर्ने, निर्माण गर्ने, प्राध्यापकहरुले पनि आफुलाई परिवर्तन गर्ने र समग्र संस्थाको हितमा लाग्न उनले सुझाव दिएका थिए । सुर्खेत बहुमुखी क्याम्पसलाई कर्णालीकै गौरबको एकेडेमीको रुपमा रुपान्तरण गर्न जरुरी रहेको समेत उनले बताए ।

कार्यक्रममा सहभागीहरुले सुर्खेत बहुमुखी क्याम्पसमा जनशक्तिको अभाव भएकाले विश्वविद्यालयले पदपूर्तिका लागि लाग्नुपर्ने जोड दिएका थिए । क्याम्पस प्रमुख माधव खनालले क्याम्पसमा जनशक्तिको मुख्य चूनौति रहेको बताउँदै हाल बिबिएस कार्यक्रम सञ्चालन गरेपनि आगामी दिनमा अन्य कार्यक्रमहरु समेत संचालन गरिने जानकारी दिए ।