डीआईजी अशोक सिंहले दिए राजीनामा

सुर्खेत । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेपछि (डीआईजी) सिंहले बुधबार राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार राजीनामाको तयारीअघि उनले प्रहरी महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहलगायतसँग आफ्नो सम्मानजनक बिदाइका लागि छलफल गरेका थिए । नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा डीआईजी सिंहविरुद्ध गत बुधबारअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उनको नागरिकता जारी मिति २०४२ जेठ २२ गते रहेको र १८ वर्ष पुगेको नागरिकतामा उल्लेख छ । नागरिकता जारी भएको मितिमा १८ वर्ष पुगेको भन्ने विवरणले उनको जन्ममिति २०२४ जेठ २२ हुन्छ । तर, सिंहले प्रहरी सेवा प्रवेशको क्रममा आफ्नो जन्ममिति २०२५ पुस १६ गते टिपाएको प्रहरी किताबखानाको तथ्यांक छ ।