आर्मीले अग्रता जोगाउन सकेन, सातदोबाटोसँग बराबरीमा रोकियो

काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १० औँ मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई एक–शून्यलाई अग्रता दिलाए ।

आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६ औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै पाँच खेलबाट नौ अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत् रहेको छ । यता बराबरीपछि सातदोबाटो भने आठ अङ्कका साथ लिगको चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब १०–१० अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । उज्यालो