अञ्जन विष्टलाई वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड


सुर्खेत । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरेर विष्टलाई वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दिएको हो ।

राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका विष्टले अवार्ड जित्ने क्रममा फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।

अन्जनले विश्व कप २०२२ छनोटमा चाइनिज ताइपेईसँगको खेलमा गोल गरेका थिए । यस्तै उनले १३ औँ साफ च्याम्पियन्शिपमा श्रीलङ्का र बङ्गलादेशसँगको खेलमा गोल गरेका थिए ।