सेन्ट्रल जोन भलिबल : नेपाली महिला टोलि फाइनलमा प्रवेश

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको लिग चरणको चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।

नेपाले पहिलो खेलमा श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपालले अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ ।

जितसँगै नेपाल शीर्षस्थानमा छ । नेपालले चार खेलबाट ११ अङ्क बनाएको छ ।