यस्तो छ प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्रलाई (मिनी सिंहदरबार) बनाउने एमालेको योजना

सुर्खेत । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार यामलाल कँडेलले आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । आज (शुक्रवार) पत्रकार सम्मेलनको आयोजना गरी उनले २८ बुँदे आफना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो प्रतिवद्धता पत्रमा सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनि सिंहदरबार) का रुपमा विकास गर्ने योजना अगाडी सारेका छन् । आँउदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले जित हात पारेमा प्रतिवद्धतापत्रमा लेखिएका २८ वटा सबै प्रतिवद्धताहरु पुरा गर्ने भन्दै उनले नेकपा एमालेलाइ अत्याधिक बहुमतले जिताउन आग्रह समेत गरेका छन् ।

यस्तै प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले कर्णालीको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित र आधुनिक सहरका रुपमा विकास गर्ने बताए। उनले संविधानको मार्गदर्शन, क्षेत्राधिकार र कर्णाली प्रदेशको आवश्यकता तथा विद्यमान अवस्थालाई मध्यनजर गर्दै जनपक्षीय कानुन निर्माण गरी कार्यान्वयन गर्न पहल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक विकास गरिने, सुर्खेत विमानस्थलको स्तरोन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका जिल्लामा उडानका लागि आवश्यक व्यवस्था गर्न पहल गरिने बताए ।

वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माणलाई पूर्णता दिइने, वीरेन्द्रनगरमा प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने, वीरेन्द्रनगरका सार्वजनिक जग्गाको संरक्षण गर्दै नगरबासीको हित अनुकूल प्रयोग नीति बनाइने उनले बताएका छन्।

त्यसैगरी वीरेन्द्रनगरको व्यवस्थित विकासका लागि गुरुयोजनाको पुनरावलोकन गरि कार्यान्वयनमा जोड दिइने, घुस्रा, रहरपुर, पसेनी हुँदै निकास खोलासम्म हुने डुबानलाई समाधान गर्न खोर्के, इत्राम र नेवारे खोलाहरूको मुहानदेखि निकाससम्म तटबन्धन तथा संरक्षणको व्यवस्था मिलाइने पनि बताए।

यस्तै, उपत्यकाकाको खानेपानी संकटको दीर्घकालीन समाधानका लागि पहल गरिने पनि उनले बताएका छन्। त्यसका लागि प्रस्तावित भेरी पम्पिन आयोजना समयमा सम्पन्न गर्न जोड दिने उनको वाचा छ। प्रतिवद्धता पत्रमा निर्माणधीन प्रादेशिक रंगशालालाई समयमै सम्पन्न गर्न पहल गर्दै अन्य खेल पूर्वाधारको विकास गरिनेछ सरकारी कार्यालय रहेको क्षेत्रलाई प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र (मिनी सिंहदरबार) का रूपमा विकास गरिने, काँक्रेविहार, देउतीबज्यै, बुलबुले, शहिदपार्क, घण्टाघर, सत्यकाँडा, सिद्धपाइला, रानीघाट र गढीलगायत स्थलहरूलाई विशेष पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिने उल्लेख छ।

कँडेलले आफ्ना चुनावी प्रतिबद्धतामा १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गरी हाल देखिएको समस्यालाई समाधान गरिने बताएका छन्। वीरेन्द्रनगरको ट्राफिक समस्याको समाधान गर्न जोड दिइने पनि उनले बताएका छन्। सुर्खेत विमानस्थल जाने इत्रामखोला, देउतीबज्यै मन्दिर जाने नेवारेखोला, वीरेन्द्रचोकदेखि यरीचोकसम्म जाने खोर्केखोला र पर्सेनी खोलामा पुल तथा कल्भर्टहरू निर्माण गरिने योजना पनि अघि सारिएको छ।

प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गरिने पनि उनले जनाएका छन्। सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाइने उनको योजना छ। वीरेन्द्रनगरमा अत्याधुनिक विधि विज्ञान प्रयोगशाला स्थापनाका लागि पहल गरिने उनले जारी गरेका प्रतिबद्धतामा उल्लेख गरिएको छ।