
सुर्खेत । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैद फैसला सुनाइएको छ । दैलेख जिल्ला अदालतले थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्ये बमबहादुर खड्कासहित तीन जनालाई जन्मकैदको फैसला गरेको हो ।
न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार पत्रकार थापाको हत्यामा संलग्नहरूलाई जन्मकैदको फैसला सुनाएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार ईन्द्रबहादुर कार्कीले जानकारी दिए ।
इजलासबाट दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्का, भगवतीमाई गाउँपालिका–६ का ‘मुक्ति’ भन्ने बमबहादुर खड्का र दुल्लु नगरपालिका–६ कै केशव खड्कालाई जनही २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार कार्कीले जानकारी दिए ।
कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला गरिएको छ ।
माओवादी सशस्त्र द्वन्द्वको समयमा पत्रकार थापाको हत्या भएको थियो । २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले पत्रकार थापाको हत्या गरेका थिए । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका
थापालाई मुहान मर्मतका लागि जाने बेला २०६१ असार १२ गते माओवादीले अपहरण गरेका थिए । अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो ।

फरकबाटो २७ मंसिर २०७८, सोमबार ११:०४