
सुर्खेत । प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेश भएको छ । आज बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत पेश गरेका हुन् ।
नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताए। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मिनी संसद्का रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताए ।
छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताए । उनले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिए ।
छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा गठित १५ सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक (वैशाख २८) मा मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो ।
नयाँ नियमावली नआएको विद्यमान अवस्थामा २०७९ सालको प्रतिनिधिसभा नियमावलीबाट कार्यसञ्चालन भइरहेको छ ।

फरकबाटो ४ जेष्ठ २०८३, सोमबार १६:००