चिङ्गाड गाउँपालिकाको सय दिनको उपलब्धि सार्वजनिक

नीति नियम निर्माणमा केन्द्रित

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकाले पहिलो एक सय दिनको काम सार्वजनिक गरेको छ । एक सय दिनमा गाउँपालिका सेवा प्रवाह, कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति नियम निर्माण तथा परिमार्जनमा केन्द्रित भएको छ । गाउँपालिकाले एक सय दिनको उपलब्धि मंगलबार सार्वजनिक गर्दै लैगिङ्ग समानता तथा सामाजिक सामावेशीकरण रणनीति, सार्वजनिक जवाफदेहिता कार्यविधि, मेलमिलाप केन्द्र संचालन कार्यविधि, टोलविकास संस्था–गठन गरेको जानकारी दिएको हो ।

यस्तै करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, विषयगत समिति कार्य सञ्चालन कार्यविधि, शिक्षा ऐन, कृषि तथा पशुसेवा सम्बन्धि कार्यक्रम सञ्चालन कार्यविधिको संशोधन गरिएको गाउँपालिकाका प्रवक्ता लालबहादुर जिसीले जानकारी दिए । बन्द रहेको सामुदायिक स्वास्थ्य ईकाइ ढाँडखेत र रहकुल सञ्चालनमा ल्याइएको, सुत्केरीका लागि निशुल्क एम्बेलेन्स सञ्चालन गरिएको, भुमि आयोगसँग सम्झौता गरी गाउँपालिकामा भूमि एकाई गठन गरिएको र लगत संकलन सुरु गरिएको प्रवक्ता जिसीको भनाई छ ।

जिसीका अनुसार पशु पंन्छि उत्पादन तथ्याङ्ग संकलन गर्नुका साथै गाउँपालिकाको केन्द्र र १५ शैश्या अस्पातलको निर्माण अघि बढाउने सन्दर्भमा सम्बन्धित पक्षसंग छलफल समेत गरिएको छ । उनले शिक्षाको गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको क्षमता विकास कार्यक्रम गरिएको बताए । सय दिनमा गाउँकार्यपालिकाको ८ वटा बैठक बसेको र त्यसबाट ८५ वटा विभिन्न निर्णय गरिएको प्रवक्ता जिसीको भनाई छ ।

यस्तै गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ३९ करोेड ३८ लाख बजेट ल्याएको छ । निर्वाचित भएसंगै बजेट निर्माणमा केन्द्रित हुनुपरेको भन्दै अबको समय बजेट नीति तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुने गाउँपालिका अध्यक्ष बोधविक्रम जि.सीले बताए । गाउँपालिकाको दीर्घकालिन विकास लक्ष्यका साथै नीति कार्यक्रम र योजना निर्माण गरिएको अध्यक्ष जिसीको भनाई छ । पाँच बर्षे कार्यकालमा काम गर्नका लागि सडक तयार गर्ने काममा पहिलो एक सय दिनमा केन्द्रित भएको अध्यक्ष जिसीले बताए ।