
सुर्खेत । अन्तराष्ट्रिय आप्रवासन दिवस २०२५ का अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आयोजना तथा जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वयमा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका व्यक्तिहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।
वीरेन्द्रचोकमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रम सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायको नेतृत्वमा गरिएको हो । दिप प्रज्वलनपछि आफ्नो भनाई राख्दै प्रजिअ उपाध्यायले सकेसम्म नेपालमा नै रोजगारीका अवसर भए नागरिक विदेश जानै नपर्ने धारणा राख्नुभयो ।
विभिन्न निकायहरुले स्वदेशमा नै रोजगारीको सिर्जना गर्न सके वैदेशिक रोजगारीका नाममा नेपाली नागरिकले ज्यान गुमाउन नपर्ने भन्दै प्रजिअ उपाध्यायले विदेशमा रहेका व्यक्तिहरुको सुरक्षाका लागि समेत पहल कदमी चाल्नुपर्ने धारणा राख्नुभयो ।
दिप प्रज्वलन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत लगायतको सहभागीता रहेको थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सम्झने दिनका रूपमा हरेक वर्ष डिसेम्बर १८ तारीखमा यो दिवस मनाउने गरिन्छ । आप्रवासी दिवस भनेको आप्रवासी (माइग्रेन्ट) हरूको अधिकार, योगदान र समस्याबारे सचेतना फैलाउन मनाइने अन्तर्राष्ट्रिय दिवस हो। रोजगारी, शिक्षा वा अन्य कारणले आफ्नो देश छोडेर अन्य देशमा बसोबास गर्ने मानिसहरू (आप्रवासी) का अधिकारको सम्मान उनीहरूले समाज र अर्थतन्त्रमा दिएको योगदानको कदर आप्रवासीले भोग्ने समस्या ९श्रम शोषण, असुरक्षा, भेदभाव आदि० प्रति ध्यानाकर्षण गर्न पनि यो अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस संयुक्त राष्ट्र संघ (UN) ले सुरु गरेको हो। सन् २००० डिसेम्बर ४ मा संयुक्त राष्ट्र संघको महासभाले निर्णय गरेर सन् २००१ देखि हरेक वर्ष डिसेम्बर १८ मा मनाउन सुरु गरिएको हो।
दिवसकालागि डिसेम्बर १८ नै किन ?
सन् १९९० डिसेम्बर १८ मा संयुक्त राष्ट्र संघले आप्रवासी कामदार र तिनका परिवारका अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अपनाएको दिन हो

फरकबाटो ३ पुष २०८२, बिहीबार २०:३३