चन्द्रको परिवारलाई सञ्चारिकाको आर्थिक सहयोग

सुर्खेत । छिमेकीको जग्गामा त्रिपालमुनि किरिया गरिरहेका वीरेन्द्रनगर ९ का चन्द्र कामीको परिवारलाई विभिन्न संघसस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गरिरहेका छन् ।

शुक्रबार सञ्चारीका समुह कर्णाली प्रदेशले समेत आर्थिक सहयोग गरेको छ । समुहकी अध्यक्ष सिता वली र कोषाध्यष सिर्जना बुढाथोकीको नेतृत्वमा चन्द्रको परिवारलाई भेटेर नगद पाँच हजार सहयोग गरिएको हो । अध्यक्ष वलीले सञ्चारीकासँग कुनै आर्थिक फण्ड नभएपनि चन्द्रको परिवारमा परेको दुःखलाई समुहले नजर अन्दाज गर्न नसकेर थोरै भएपनि सहयोग गरिएको बताईन् ।

कोषाध्यक्ष बुढाथोकीले परिवारका सदस्य गुमाउदाको पिडासँगै अर्काको जग्गामा त्रिपालमुनि किरिया गर्दाको पिडाले जो कोहिलाई पनि दुखि तुल्याउने बताइन्।

सञ्चारीका समुहले गरेको सहयोगले आगामी दिनमा यस्ता खाल्का सहयोग गर्न चाहनेका लागी बाटो बनाएको कोषाध्यक्ष बुढाथोकीको भनाई छ ।

यस्तै, चन्द्रको परिवारलाई दलित महिला संघ (फेडो) र इनर हृवील क्लबले समेत खाद्यान्न सहयोग गरेको छ । आर्थिक अवस्था नाजुक भएका चन्द्रको परिवारलाई केहि दिन भएपनि खाद्यान्नको कमि नहोस् भनि चामल, दाल, तरकारी तथा फलफुल लगाएतका सामाग्री सहयोग गरिएको दलित महिला संघ फेडोकी अध्यक्ष मञ्जु सुनारले बताइन् । इनर हृवील क्लबकी वर्ष २०२४÷२०२५ की अध्यक्ष रश्मी शाक्यले समाजमा दुःख परेका परिवारका लागि आफ्नो संस्था सधै साथमा रहेको बताइन् । उनले ठुलो सहयोग नसकेपनि सानो सहयोगले उनीहरुको केहि समस्या समाधान गर्न सक्ने भन्दै सबैले सहयोग गरिदिन अनुरोध गरिन् ।

साउनको पहिलो साता ज्याला मजदुरीका लागि भन्दै भारतको चण्डीगढ पुगेका चन्द्रले पुगेको दुई दिनमै श्रीमती गुमाएका थिए । बस्ने बास र खाने गाँस नभएर जीविकोपार्जनका लागी भन्दै भारत पुगेका चन्द्र श्रीमतीको निधनले शोकमा डुबेका छन् । श्रीमती गोमा वि.क सँगै चन्द्रको खुशी पनि उजाडिएको छ । चन्द्रले आफुलाई यो दुःखबाट उत्रिन नसकेको बेला यसरी सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका छन् ।