
सुर्खेत । बराहताल गाउँपालिका वडा नं ६ बिउरेनी सुर्खेतकी २६ वर्षीय निर्मला बि.सीका श्रीमान् रोजगारीका लागि भारतमा गएका छन् । सानो एक छोरासंग घर धानेकी निर्मलालाई महिनावारी भएको समयमा पानी खान दिने मान्छेसम्म हुँदैन । महिनावारी भएको समयमा घरभित्र पस्न नहुने छाउप्रथाबाट पेलिएकी उनले कती रात भोकै गुजारेकी छन् ।
‘महिनावारी भएको समयमा गोठमा सत्नुपथ्र्यो’ उनले भनिन् “सबैभन्दा बढि डर बलात्कृत हुन्छुकी भन्ने लाग्थ्यो ।” माइतीघरमा समेत छाउगोठमै रात गुजारेकी निर्मलाले केहि वर्षयता विद्रोह नै गरेर घरभित्र सुत्न थालेकी छन् ।
महिनावारी भएको समयमा घरको एउटा कोठामा बस्दै आएकी निर्मलाले विद्रोह त गरिन् तर उनलाई समाजमा घुलमील हुन निकै अप्ठ्यारो भएको छ । घरको एउटा कोठामा बस्दै आएकी निर्मलालाई छिमेकीहरुले देउता बिगारी भन्ने आरोप लगाउँछन् । उस्तैपरे उनले छोएको खानपनि हिचकिचाउँछन् ।
‘देउतासंग माफी मागेर एउटा कोठा मागेकी हुँ ’ निर्मलाले थपिन्‘ केहि बिरामी हुँदापनि देउता बिगारेर यस्तो भएको भन्छन् ।” तर म छाउगोठमा बसेर बलात्कृत भए कसले बेहोर्छ ? उनी प्रश्न गर्छिन् ।

निर्मला बि.सी
गाउँका अधिकाँश महिलाहरु छाउगोठमै सुत्नेगरेको उनले सुनाईन् । पहिलेजस्तो छुट्टै गोठ निर्माण नभएपनि बाखा्रको खोर, कुखुराको खोर, गाईगोठ लगाएतमा पाँचदिन महिलाहरुले गुजार्ने गरेको निर्मलाले बताईन् । आँफु भने घरमा एक्लै बस्नुपर्ने भएकोले देउतासंग माफी मागेर घरकै एउटा कोठामा सुत्नेगरेको उनले बताईन् ।
सोहि स्थानकी सीता नेपाली २१ वर्षकी भइन् । महिनावारी हुन थालेको पाँचवर्षसम्म उनले छाउगोठमै रात बिताईन् । पञ्चपुरी नगरपालिका २ मा माइती घर भएकी सीताले १८ वर्षको उमेरमा विवाह गरेकी हुन् । माइती घरमा महिनावारीका समयमा छाउगोठमै रात बिताउने गरेकी सीतालाई घरमा पनि उसैगरी छाउगोठमै रात बिताउनुपर्ने भयो ।
घरनजिकै निर्माण गरिएको सानो कटेरोमा उनले महिनावारीका एकवर्ष बिताईन् । उनलाई डर जनावरको भन्दा पनि मान्छेकै लाग्थ्यो । ‘महिनावारी भएको पाँचदिन सम्म खासै निन्द्रा लाग्थेन’ उनले भनिन्‘ राती बलात्कृत हुन्छुकी भन्ने डरले रातैभरी अनिदै बस्थेँ ।”
सीतालाई छाउगोठमा बस्नुपर्दा यो महिनावारी नै हुन नपरेको भए हुन्थ्यो जस्तो लाग्थ्यो । तर जब २०७६ सालमा गृहमन्त्रालयले छाउप्रथा भएका सम्बन्धित जिल्लाका जिल्ला प्रशासनलाई छाउगोठ भत्काउने अभियानमा सहभागी हुन निर्देशन दियो । त्यसपछिका रातहरु सीताका लागि सहज भएका छन् । उनी घरकै एउटा कोठामा सुत्न पाएकी छन् । तर छोइछिटो र विभेद भने उस्तै छ ।

सीता नेपाली
उनी जस्तै २१ वर्षीय लक्ष्मी बिसीले पनि छाउगोठबाट घर सरेकी छन् तर उनका रात भने अझैपनि कठिन छन् । घरकै एउटा कोठामा उनले महिनावारी भएको समयमा बस्न पाएपनि चिसो र असुरक्षा उस्तै छ । चिसो कोठा त्यसमा पनि ढोका नजोडिएकोले उनलाई घरभित्रैपनि डर लाग्छ । तर श्रीमान् देवताका धामी भएकोले उनी सोहि कोठामा सुत्न बाध्यछिन् ।
‘देवताले बौलाउन हालेर बन पसाल्छन्की डर लाग्छ ’ उनले भनिन् “त्यसैले बाहिरै सुत्छु ।” घरकै कोठा भएपनि पछाडिपट्टि भएकोले र ढोका नभएकोले डर लाग्ने उनले सुनाईन् ।

लक्ष्मी बि.सी
उनीहरुजस्तै छाउगोठका घाउ लिएर बाँचेका कर्णालीका थुप्रै महिलाहरु छन् । जसलाई सरकारको अभियानले घरको एउटा कोठासम्म त पु¥याएर छ तर अझै बिचल्ली उस्तै छ । छाउगोठ भत्काएपछि अझै महिलाहरु बाख्राको खोर, कुखुराको खोरमा सुत्न बाध्य भएका हुन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय, सुन्दर नेपाल संस्थाको सिएस् म्याप प्रोजेक्ट , आजाव संस्था सुर्खेतले संयुक्त रुपमा छाउगोठ अनुगमन समेत गरेका छन् ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पहिलेको तुलनामा परिवर्तन आएको बताए । उनले स्थानिय तहले अझैपनि अपनत्व लिएर छाउगोठ भत्काउने र चेतनामुलक कार्यक्रम बढाउनुपर्ने सुनाएका थिए ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ को उपदफा (३ ) मा छाउपडि राख्नेलाई ३ महिनासम्म कैद र ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । राष्ट्रसेवकले यस्तो खालको कसुर गरेमा निजलाई थप तिनमहिना सम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।


सीता वली २५ मंसिर २०७८, शनिबार १५:१३