सकियो एमाले-कांग्रेस बालकोट वार्ता, निस्किएन ठोस निष्कर्ष

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीचको वार्ता सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको वार्ता भने निष्कर्षविहीन बनेको छ ।

बालकोट बैठकमा दुवै दलका नेताहरू आआफ्नै अडान नछाडेपछि ठोस निर्णय नभएको हो । बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

‘प्रतिनिधिसभाको द्वार खुलेको छैन । त्यो खुलाउने काम गर्नुस् भनेर प्रतिपक्षले भन्नुभयो । तपाईंहरूको पनि दायित्व हो, संसदलाई जीवित गराउने हो भनेर हामीले भन्यौं । आज मात्रै छलफल यतिमा सकियो । ठोस निर्णय आएन’ उनले भने ।

आजको छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

यसअघि कांग्रेस र एमालेबीच शुक्रबार पनि छलफल भएको थियो । शुक्रबार पनि गम्भीर छलफल भए पनि निष्कर्ष ननिस्किएको नेताहरूले बताएका थिए । यसअघि बालुवाटार, संसद भवनमा कांग्रेस र एमालेबीच सहकार्यका लागि भएका वार्ता निष्कर्षमा पुग्न सकेका थिएनन् ।