विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने पुरुष टी–ट्वान्टी विश्वकप अघि हुने अभ्यास खेलको तालिका सार्वजनिक गरेको छ ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२२ को अभ्यास खेल मेलबर्न र ब्रिसबेनमा हुनेछ । पहिलो चरणका टोलीले अक्टोबर १० देखि १३ सम्म मेलबर्न क्रिकेट ग्राउन्ड र जक्सन ओभलमा अभ्यास खेल खेल्नेछन् । सुपर १२ राउन्डमा सिधै छनोट भएका टोलीले अक्टोबर १७ र १९ मा ब्रिसबेनमा अभ्यास खेल खेल्नेछन् ।

पहिलो अभ्यास खेल वेस्ट इन्डिज र युएईबीच अक्टोबर १० मा जक्सन ओभलमा हुनेछ । स्कटल्याण्डले नेदरल्यान्ड्सको सामना गर्नेछ भने श्रीलङ्काले जिम्बावेसँग सोही दिन खेल्नेछ ।

आयोजक तथा साबिकको विजेता अस्ट्रेलियाले आफ्नो पहिलो र एक मात्र अभ्यास खेल अक्टोबर १७ मा गबामा भारतसँग खेल्नेछ । भारतले दुई दिनपछि न्युजिल्यान्डसँग पनि सोही मैदानमा खेल्ने छ ।

अभ्यास खेलले आधिकारिक टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।