संसदीय छानबिन समितिको प्रतिवेदन संसदमा पेश हुँदै

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसदमा प्रतिवेदन पेश गर्दैछ।

शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको प्रतिनिधिसभाको दोस्रो बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो।

समितिले थपिएको सहित १७ औं दिनमा छानबिन गरी प्रतिवेदन तयार पारेको हो।

गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठनको घोषणा गरेका थिए।

संसदीय छानबिन समिति गठन भएपछि शर्माले पदबाट राजीनामा दिएका थिए। समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो।