गुराँसमा पालिका स्तरीय युवा संसद अभ्यास कार्यक्रम सुरु


सुर्खेत । गुराँस गाउँपालिका दैलेखको आयोजनामा पालिका स्तरीय युवा क्लब गठन तथा नमुना युवा संसद अभ्यास कार्यक्रम आजदेखी सुरु भएको छ । महिला सशक्तिकरण मञ्च नेपाल, युरोपियन युनिएन, हेल्भेटास नेपालको समन्वयमा कार्यक्रम सुरु भएको हो ।

गाउँपालिकाका ८ वटा वडाबाट २४ जना युवाहरु छनौट गरी कार्यक्रममा सहभागी बनाइएको गुराँस गाउँपालिकाका प्रवक्ता दिपेन्द्र ओलीले जानकारी दिए । उनका अनुसार युवाहरुलाई संसदीय अभ्यासमा अभ्यस्त बनाउने, विभिन्न कानुन निर्माणको प्रक्रिया र पालिकाका हरेक गतिविधिमा समेत युवाहरुलाई सक्षम बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सीले युवाहरुलाई नसमेटी राज्य कतैपनि नपुग्ने भन्दै स्थानिय तहमा झनै युवाहरुको भुमीका महत्वपुर्ण रहेको बताए । उनले आजको अशल र जिम्मेवार युवा भोलीको ठुलो सम्भावना र परिवर्तनको संवाहक हुने तर्क गरे । गाउँपालिकाले युवाहरुका लागि धेरै गर्न सक्ने तर युवाहरु एक्लाएक्लै भन्दा पनि सांगठनीक रुपमा दर्ता भई आउन समेत उनले आग्रह गरे ।

गुराँस गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका लागि गुराँसका आठवटै वडाका युवाहरुको साथ चाहिने भन्दै रचनात्मक सहयोगको अपेक्षासहित युवाहरुका लागि पालिकाले माथिल्लो निकायसम्म समन्वय गर्ने र पालिकाबाट समेत सहगोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाअध्यक्ष शिवाकुमारी खड्काले युवाहरु भरोषाको केन्द्र भएको भन्दै युवाहरुको नेतृत्व विकासका लागि गाउँपालिकाले हरप्रयास गर्ने बताईन् ।

कार्यक्रममा महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनीता चन्द लगाएत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रम आजदेखी तिनदिनसम्म चल्नेछ ।