सुर्खेत । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको छ ।
समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।
बुधबार दिउँसो करिब २: २० बजे शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित सूर्यचौरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो।
उक्त हेलिकप्टर काठमाडौंबाट १: ५४ बजे रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो। काठमाडौंबाट उडेको तीन मिनेटमै एयरटावरसँग सम्पर्कबिच्छेद भएको थियो। त्यसको केही समयपछि हेलिकप्टर दुर्घटनामा परेको हो।
हेलिकप्टरमा रहेका चार जना चिनियाँ नागरिक र एक जना नेपाली पाइलटको मृत्यु भएको हो। मृतक क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङको मृत्यु भएको थियो ।
फरकबाटो २२ श्रावण २०८१, बुधबार १९:५३